रुकुम पश्चिमको ठूली दहमा फोहरको मात्रा बढेको छ। यहाँ घुम्न आउने पर्यटकहरूले खानेकुराका प्याकेट, प्लास्टिक र सिसाका बोतल जथाभावी फाल्दा यो प्राकृतिक स्थलको सौन्दर्यमा कमी आएको छ। स्थानीय इन्द्रकुमार कामीले भने, 'पहिले यस्तो थिएन, तर अहिले घुम्न आउनेको सङ्ख्या बढेसँगै फोहर पनि बढेको छ। उनीहरूले खाएपछि बाँकी फोहर यसै छोडिदिन्छन्।'
ठूली दह रुकुम पश्चिमको प्रमुख पर्यटकीय गन्तव्य हो। जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाबाट उत्तर-पूर्वतर्फ करिब ११ किलोमिटरको दूरीमा रहेको यो स्थलमा पुग्न मध्यपहाडी राजमार्ग हुँदै बैरीदहसम्म सवारी र त्यहाँबाट ३ किलोमिटर पैदल यात्रा गर्नुपर्छ। मुसिकोट नगरपालिकाले बाटो, प्रतीक्षालयलगायत संरचना बनाएर पहुँच सहज बनाएको छ, तर फोहर व्यवस्थापनमा समस्या देखिएको छ।
स्थानीय कृषक रतु गिरीले फोहरले पशुचौपायालाई समेत असर गरेको बताए। उनले भने, 'प्लास्टिक र सिसाका टुक्रा पशुले खाने गरेका छन्, जसले उनीहरूको स्वास्थ्यमा समस्या ल्याएको छ।' यो क्षेत्र चरनका लागि पनि प्रयोग हुने गरेको छ।
वडाध्यक्षको योजना
वडाध्यक्ष एक्कबहादुर पाण्डेले फोहर व्यवस्थापनका लागि नगरपालिकाले काम गरिरहेको जानकारी दिए। चालु आर्थिक वर्षको साउनदेखि ठूली दहमा एक जना रेखदेख गर्ने व्यक्ति राख्ने तयारी गरिएको छ। उनले भने, 'सुन्दर ठाउँमा यसरी फोहर हुँदा दुख लागेको छ। एक महिनाअघि स्वयंसेवक युवाले सरसफाइ गरे पनि फेरि फोहर जम्मा भएको छ। अबदेखि एक जना कर्मचारी राखेर नियमित सफा गर्ने र पर्यटकसँग न्यूनतम शुल्क उठाएर यो स्थललाई व्यवस्थित गर्ने योजना छ।'
ठूली दहको मुख्य आकर्षण वैशाख–जेठमा फूल, बर्खामा हरियाली, हिउँदमा हिउँ र गृष्ममा वसन्ती वनको सुन्दरता हो। तर फोहरले यी आकर्षण कम हुँदै गएको छ।
